झापा / आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरूले आज (बिहिबार) देखि चुनाव केन्द्रित प्रचारप्रसार गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूले सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने छन् ।
प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको समेत व्यवस्था गरिएको छ ।
आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।
दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको रयाली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छन् । राजनीतिक दलहरूले मंसिर १ गतेसम्म मात्र चुनाव प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ ।