काठमाडौं / काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर  घाइते भएका  बालकको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजे वेस्ट इलिमेन्ट्री मन्टेश्वरी स्कुलका १३ वर्षीय आयुश्मान दाहाल बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए । प्रहरीका अनुसार घटना स्कुल बाहिर भएको थियो । गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो ।

५ कक्षामा अध्ययनरत दाहाल बसको पछाडिको सिटमा बसेका थिए । घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । पोस्टमार्टमको लागि दाहालको शव टिचिङ अस्पतालमा राखिएको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।