बिर्तामोड  / लोकतान्त्रिक-बाम गठबन्धन संयुक्त संयन्त्र झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न पत्रकारहरूको संयुक्त भेलाले नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचारप्रसार संयन्त्र गठन गरेको छ । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त संयन्त्रमा आबद्ध राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस का शुभेच्छुक एवं आबद्ध संस्थाका पत्रकारहरूको भेलाले पूर्वेलीको संयोजकत्वमा  जिल्लास्तरीय प्रचारप्रसार संयन्त्र गठन गरेको हो ।

गठित समितिको सहसंयोजकमा प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष अनिलदेव राई रहेका छन् भने सचिवमा पुष्प खड्का रहेका छन् । समितिका सदस्यहरूमा मुक्ति पौडेल, कृष्ण हुमागाईँ, लिलाराज झापाली, सन्तोष शर्मा र गिरिराज भट्टराई रहेका छन् । संयन्त्रले झापाका पाँचवटै क्षेत्रमा गठित संयुक्त गठबन्धन दल क्षेत्रीय प्रचारप्रसार समितिसँगको समन्वयमा निर्वाचनलाई सभ्य, भव्यनिष्पक्षरूपमा सम्पन्न गर्दै गठबन्धनको पक्षमा मत परिणाम ल्याउने गरी प्रचारप्रसारलाई तीब्र बनाउने जनाइएको छ ।

OM Sai Pathibhara Hospital

यसैगरी सो भेलाले साहित्यमार्फत पनि गठबन्धनका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले साहित्यकार पुण्यप्रसाद खरेलको संयोजकत्वमा जिल्लास्तरीय साहित्यिक संयन्त्र गठन गरेको छ । गठित समितिको सहसंयोजकमा रश्मिशेखर सुवेदी रहेका छन् । दुई सदस्यीय उक्त समितिले आवश्यकता अनुसार क्षेत्रगत प्रतिनिधित्व हुनेगरि सदस्यहरू थप गर्ने जनाइएको छ ।लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापाका संयोजक एवं नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेले नवगठित समितिलाई बधाई तथा शुभकामना दिदै पत्रकारहरूको पेशागत मर्यादा कायम राखेर अग्रगमन र प्रतिगमनबीचको चुनावी प्रतिष्पर्धामा अग्रगमनका पक्षमा कलम चलाउन आम पत्रकारहरूलाई आग्रह गरेका छन् ।

नेपालीहरूले धेरैपटक ब्यवस्था परिवर्तनका लागि संघर्ष गरेको ऐतिहासिक पृष्ठभूमि बताउँदै संयोजक पाण्डेले २०६२–०६३ को लोकतान्त्रिक आन्दोलनमा पत्रकारहरूले पनि एउटा दल सरह भूमिका निर्वाह गरेको धारणा राख्दै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्दै जनहितमा काम गर्न कांग्रेस नेतृत्वको गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन आम नागरिकसमक्ष आग्रह गरे । संयन्त्रका सचिव राजु आचार्य अग्निले कार्यक्रमको औचित्यमाथि प्रकाश परेको कार्यक्रममा पत्रकारहरू गोविन्दचन्द्र छेत्री, लोकराज ढकाल, कृष्ण हुमागाईँ, राजेन्द्र गौतम, गिरिराज भट्टराई, लिलाराज झापाली, सन्तोष शर्मा, उद्धव पुरी, विनोद पाण्डे लगायतले विभिन्न सुझावहरू राख्दै निर्वाचनका समयमा पत्रकारहरूको झन् बढी जिम्मेवारी हुने उल्लेख गर्दै पत्रकार आचारसंहिता र पेशागत मर्यादाको पालना जरुरी रहेको धारणा राखे । समाचारमा सन्तुलन जरुरी रहेको टिप्पणी गर्दै अधिकांश बक्ताहरुले पार्टीको मुखपत्र घोषणा गरिए मात्रै दलबिशेषका समाचार लेख्न पाइने अन्यथा आचारसंहिता बिपरित हुने हुँदा आचारसंहिता पालनामा जोड दिएका थिए । भेलामा नेकपा एसका झापा अध्यक्ष बेदराज रेग्मी, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, केन्द्रीय सदस्य सुशिला संग्रौला लगायत अग्रज र क्रियाशील पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।