धादिङ / धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो । उनको गस्ती जानेक्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए ।
उनका अनुसार सोमबार दिउँसो करिब १ बजेतिर सल्यानटारमा म्यादी प्रहरीहरू गस्तीमा जाँदै थिए। बाटो छेउमा माटो भासिएर चिप्लिएपछि उनी अन्दाजी ५५ मिटर तल खसेकी थिइन् । उनको टाउकोमा समेत चोट लागेको थियो।
धादिङमै प्राथमिक उपचारपछि काठमाडौंको नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँबाट पनि बाँसबारीस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो।त्यहाँ उपचारको क्रममा मंगलबार दिउँसो ३ बजेतिर मृत्यु भएको खत्रीले बताए । बुधबार उनको काठमाडौंस्थित पशुपतिमा दाहसंस्कार गरिने भएको छ ।