भैरहवा / कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरण सकारात्मक भएसँगै हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने घोषणा गरेको छ ।
यस अनुसार एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्ने जनाइएको छ । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात ३ नोभेम्बरदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको छ ।
प्रारम्भिक चरणका लागि एयरलाइन्सले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्ने छ भने भविष्यमा अन्य क्षेत्रमा पनि उडान विस्तार गरिने प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
हिमालय एयरलाइन्सले आफ्नो सञ्जालमा नयाँ थपिएको क्षेत्र भैरहवासँगै गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको उनले बताए ।