बिर्तामोड / मोरङको  विराटनगर महानगरपालिका -८ स्थित जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका -४ घर भएका ५४ वर्षीय मानबहादुर खपाङ्गीको  मंगलबार साँझ मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए । 

उनलाई जिल्ला अदालत तेह्रथुमले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको हो । खपाङ्गीलाई २०७४ माघ ९ गते अदालतले १० वर्ष कैद सजायको फैसला गरेको थियो । भगतका अनुसार तेह्रथुम कारागारमा सजाय भुक्तान गरिरहेका उनलाई स्थानान्तरण गरेर २०७६ मंसिर २४ गते मोरङ ल्याइएको हो । अचानक बिरामी परेपछि कात्तिक १२ गते बिहान उपचारका लागि विराटनगरको कोसी अस्पताल भर्ना गरिएको उनले बताए । उपचारका क्रममा मंगलबार साँझ ६:१० बजेतिर मृत्यु भएको भगतले बताए । 

OM Sai Pathibhara Hospital

खपाङ्गीलाई पेट र पायल्सको पुरानै समस्या रहेको जानकारी उनले दिए । उनका अनुसार पछिल्लो समय खाना रुचि नहुने समस्या पनि थपिएको थियो । निमित्त जेलर भगतका अनुसार शव कोसी अस्पतालमै राखेर घटनाका बारेमा मृतकका आफन्त र परिवारका सदस्यलाई जानकारी गराइसकिएको छ । परिवारका सदस्य आएपछि शव जिम्मा लगाइने उनको भनाइ छ ।