झापा / सशस्त्र प्रहरी बल नेपालका दुई जना नायब निरीक्षक (वरिष्ठ सई) निलम्बित भएका छन् । आचरण विपरीतको गतिविधि गरेपछि नायब निरीक्षकद्वय गोविन्द सुवेदी र कृष्णबहादुर मगरलाई निलम्बित गरिएको हो ।
सुवेदी सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तु र मगर सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत थिए ।
सशस्त्र प्रहरी नायब निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगे जनाइएको छ।
सुवेदीमाथि यही कात्तिक ४ गते निर्वाचन सुरक्षा वेस स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारी पुर्याएर फर्कने क्रममा जिम्मेवारी उचित ढंगले निर्वाह नगरी सवारी दुर्घटना गराएको आरोप छ भने मगरमाथि गत असोज २० गते भारतीय भूमिमा मृत फेला सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव प्रकरणको छानबिनमा विभागीय नीति तथा आदेशविपरीत कार्य गरेको अभियोग लागेको छ ।
नायब निरीक्षकद्वयले गरेका आचरण विपरीतका कार्यमाथि छानबिन गर्नुपर्ने भएपछि उनीहरूलाई निलम्बन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।