बिर्तामोड / छठ पुजा हेर्न मोरङको उर्लाबारी पुगेका झापाका बालकको छुरा प्रहार गरी हत्या भएको छ । उर्लाबारी नगरपालिका-७ मावा खोलामा छठ हेर्न पुगेका झापाको दमक नगरपालिका-१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको छुरा प्रहार गरी हत्या भएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । एस पी कोइरालाका अनुसार बालकको बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार भएको छ । छठ पर्व हेर्न मावा खोलामा पुगेका दियुस माथि आइतबार राति १०:२५ बजेतिर छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घाइते बालकलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुर्‍याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । गोदावरीमा सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो । उपचारका क्रममा सोमबार बिहान ४:५० बजेतिर मृत्यु भएको एसपी कोइरालाले बताए । उनका अनुसार दियुस माथि छुरा प्रहार गर्नेहरूको पहिचान हुन बाँकी छ। उर्लाबारीकै हाटखोला बस्ने तत्काल नाम, थर र वतन नखुलेका च्यान्टे भनिने युवाको समूहले छुरा प्रहार गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ । एसपी कोइरालाले घटनामा संलग्नहरू फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी दिए । 

OM Sai Pathibhara Hospital