झापा / अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका –१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझी रहेका छन् ।
सन्धिखर्क –१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेमा अनियन्त्रित भई गएराती प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा परी सुनाम र रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।
त्यस्तै अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्।
घाइतेको बुटवल स्थित मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ। मोटरसाइकल तिब्र गतिमा चलाएका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ।