विराटनगर / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकालाई मतदानबाट बञ्चित नगरिने बताएका छन् । विराटनगरमा शुक्रबार प्रदेश स्तरीय सञ्चार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् । उनले मतदाता परिचयपत्र नभएकालाई मतदानबाट बञ्चित नगरिने बताउँदै उनले भने,‘ लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र वा आधिकारिक निकायबाट जारी फोटो सहितको परिचय पत्र भए पनि हुन्छ ।’

उनले पछिल्लो समय आचारसहिंता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दैमा तरंग मच्याउने प्रवृत्ति आयोगका लागि चुनौतीको विषय रहेको बताए । स्पष्टीकरण कारवाही नभएर प्रकृयाको सुरुवात मात्रै भएको बताउँदै उनले प्रदेश स्तरीय अन्तरक्रियामा सञ्चार माध्यमलाई राजनीतिक दलका घोषणापत्रबारे पनि बहस चलाइदिन आग्रह गरे । उनले निर्वाचनको स्वच्छताले मात्रै लोकतन्त्र सबल हुने बताए ।