झापा / सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका -१ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरूमध्ये तीनजना भारतीय नागरिकहरू १९ वर्षका र नेपाली नागरिक सहनी ३२ वर्षका छन् ।
बुधबार बिहान ११ः१५ बजे सर्लाहीको बागमती नगरपालिका -१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका -२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियो । आफ्नै कार्यालयमा काम गरिरहेको बेला अपरिचित ३ जना मानिसहरू आएर कार्कीलाई ४ राउन्ड गोली प्रहार गरेका थिए । कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको थियो । कार्कीको अहिले काठमाडौंमा उपचार भैरहेको छ । घटनालगत्तै खोजतलासमा जुटेको प्रहरीले चार जनालाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई सर्लाही प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।