झापा / अपरिचित व्यक्तिको समुहले सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने वर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ । हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको  प्रवक्ता  यादवले जानकारी दिए ।

निलो रङ्गको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरूले गोली प्रहार गरि फरार भएको र  उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् । कार्यालयमा काम गरिरहेको अवस्थामा नै उनलाई गोली प्रहार भएको थियो । यस्तै झापाको गौरादह नगरपालिका वडा नम्बर ८ जुरो पानीमा पनि गोली प्रहार गरि एकजनाले आत्मा हत्या गरेका छन् । जुरोपानीका अन्दाजी ३५/३६ वर्षीय बिरन साहले आफैलाई गोली हानी आत्मा हत्या गरेका हुन् ।