झापा / निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा तोकेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि अयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा तोकेको हो।
आयोगका अनुसार विभिन्न तीन पक्षलाई आधार मानेर प्रत्यक्षतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्च सीमा तोकेको छ ।
खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।
उल्लिखित भारका आधारमा झापा –१ र ४, मोरङ –४, ५, ६, सुनसरी –३ र ४, उदयपुर –२ का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।
त्यस्तै झापा –२, ३ र ५, इलाम –१ र २, मोरङ १, २ र ३, सुनसरी १ र २, ओखलढुंगा, उदयपुर, भोजपुर र धनकुटामा भने उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँ खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी एउटा मात्रै निर्वाचन क्षेत्र रहेका पहाडी जिल्ला तेह्रथुममा २६ लाख र ताप्लेजुङ, पाँचथर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बुमा उम्मेदवारहरूले अधिकतम २७ लाख रुपैयाँ खर्च गर्न पाउने छन् ।
निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउने आयोगले जनाएको छ ।