झापा / अरिङ्गालको टोकाइबाट सल्यानमा आमाछोरीको मृत्यु भएको छ , भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकीको मृत्यु भएको हो । प्रहरीका अनुसार अरिङ्गालको टोकाइबाट घाइते भएका स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ ।
सोमबार बेलुका धान काटेर घर फर्किनेक्रममा उनीहरूलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेपछि तीनै जनाको सल्यानकै श्रीनगरस्थित एक अस्पतालमा सामान्य उपचारपछि आमा–छोरीलाई बाँकेको कोहलपुर रिफर गरिएको थियो ।
कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमै मृत्यु भएको र उनकी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी खनालले बताए । मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।