विराटनगर / यस वर्षको १ लाख धनराशीको आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक भक्त बहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादवलाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने उनीहरूलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय ले पुरस्कृत गरेको हो ।
पुरस्कृत भएका प्रहरी सहायक निरीक्षकले सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा ५ वटा पेस्तोल सहित मानिसहरू पक्राउ गर्न सफल भएको साथै कर्तव्य ज्यान जस्तो गम्भिर अपराधका ४ वटा मुद्दाको अभियुक्तलाई पक्राउ गरेको साथै कर्सियाको बिपि चौकमा रहेको सिटिजन्स बैंकमा हतियारधारी लुटेराहरूको समूह आई बैंकको गार्डलाई गोली प्रहार गरी नगद समेत लुटी फरार भएका ३ जना अभियुक्तलाई कटुवा पेस्तोल १ थान र गोली १ राउन्ड सहित पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरूलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाएका साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले कामको उच्च मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले उनीहरूलाई पुरस्कृत गरेको हो ।
वर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरू मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधिद्दारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरूप साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा-पत्र समेत प्रदान गरेका थिए । प्रहरी जवान तथा अधिकृतहरूको मनोबल उच्च राख्न यस साधनादेबी प्रहरी पराक्रम पुरस्कारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आफ्नी स्वर्गीय माता साधना देवी श्रेष्ठको नाममा वार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई निमित्त प्रदेश प्रहरी प्रमुखले हार्दिक धन्यबाद दिएका छन् । सोही उनले अवसरमा पुरस्कृत हुने प्रहरी अधिकृतहरूलाई बधाई समेत दिएका छन् ।
पुरस्कृत हुने प्रहरी द्धयले आफूबाट सम्पादित कार्यहरूको मूल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफूलाई छनौट गरिएबाट सङ्गठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् । स्वर्गीय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उद्देश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा.बिक्रम श्रेष्ठले आफू लगायत आफ्नो परिवार खुसी भएको बताए । साथै प्रहरी दिवसको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक श्रेष्ठलाई प्रमुख अतिथि केदार कार्कीले दोसल्ला ओढाई सम्मान गरेका थिए ।