पोखरा / सरकारले आज (आइतबार) देखि अनिश्चितकालका लागि देशैभर प्याराग्लाइडिङ उडान बन्द गरेको छ ।
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका लागि उडान बन्द गरेको हो ।
अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरूबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।