बिर्तामोड / धरानको एक खोलामा पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको छ । धरान-८ को दुर्गापथ स्थित गैरीगाउँको खहरे खोलामा सोही ठाउँको गैरीगाउँका अन्दाजी २६ वर्षीय रूपेश खातुनको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले बताए । खहरेमा जमेको पानीमा घोप्टो अवस्थामा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सानिमासँग बस्दै आएका खातुनको टाउकोमा चोट लागेको र पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा शव फेला परेको थियो ।मृतकको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागूऔषध र लागूऔषध प्रयोग गरी सेकपछिको लागूऔषधका खोल र सुई फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव मुचुल्का उठाएर अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।