बिर्तामोड / ६७ औ प्रहरी दिवस २०७९ को अवसरमा  १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्य र बि.एण्ड.सि अस्पताल बिर्तामोडको सहयोगमा अर्जुनधारा नगरपालिका-११ मा रहेको होलिका बोडिङ स्कुलको प्राङ्गणमा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र र बिभिन्न सङ्घसंस्थाहरूको सहभागितामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा २८ जना पुरुष र ८८ जना महिलालाई निशुल्क उपचार दिइएको हो । स्वास्थ्य शिविरमा हाडजोर्नी, यौन तथा छाला रोग तथा गाइनो रोग सम्बन्धीका बिरामीहरूलाई निशुल्क परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो  ।