काठमाडौँ / वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आज बिहान निधन भएको छ । किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीको निधनबारे उनका आत्मकथा लेखक तथा पत्रकार गिरीश गिरिले ट्विट गर्दै थप पुष्टि गरेका छन् । सत्यमोहन सर रहनुभएन । अहिले बिहान ७ बजेर ९ मिनेटमा हामीबाट बिदा हुनुभयो ।
२४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसीयुमै राखेर उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको थियो ।