झापा / सिराहाका १७ वर्षीय अंशु सदाको अपहरण पछि हत्या गरिएको छ । गत असोज २३ गते अपहरणमा परेका सिराहाको गोलबजार –३ का सदाको विराटनगरमा ल्याएर हत्या गरिएको हो । 

सदाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा कमलामाई नगरपालिका –६ का राकेश ठाकुर, प्रशान्त मण्डल र मोरङ रतुवामाई –५ कादुपाडाका मनोज कार्की रहेका छन् । 

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार फिरौती माग गर्दै ठाकुर र मण्डलले सदालाई २३ असोजमा अपहरण गरेका थिए । उनीहरुले सदाको अपहरण गरेर उनका परिवारसँग एक लाख रुपैयाँ फिरौती समेत माग गरेको प्रहरीले जनाएको छ । 

अपहरण गरेलगत्तै उनीहरूले गत २४ असोजमा सदालाई विराटनगर ल्याएका थिए । उनीहरुले सदालाई  विराटनगरको बसपार्कस्थित धनकुटे लजमा दुई दिन (२४२५) गते राखेर २६ गतेदेखि न्यू अप्सरा गेष्ट हाउसमा सरेका थिए ।

सोही क्रममा उनीहरूले कार्कीसँग सम्बन्ध बनाएको अनुसन्धानमा खुलेको छ । सदाको अपहरण गरेर परिवारसँग फिरौती मागेपछि मृतकका परिवारले सिराहाको गोलबजार प्रहरी कार्यालयमा बिहीबार निवेदन दिएका थिए ।

२८ गते अर्थात आज (शुक्रबार) बिहान फिरौती रकम झिक्न विराटनगरस्थित माछापुछ्रे बैंक पुगेको बेला प्रदेश र मोरङ प्रहरीको संयुक्त टोलीले मण्डल र कार्कीलाई पक्राउ गरको हो । उनीहरुलाई पक्राउ गरेपश्चात् प्रहरी टोली न्यू अप्सरा गेस्ट हाउस पुगेको थियो । 

गेष्ट हाउसमा उनीहरु बसेको कोठाको चेकजाँच गर्दा ठाकुर सुतेको लोबेड भित्रबाट सदाको लास बरामद भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए । 

नायकका अनुसार उनीहरूले २७ गते राति सदाको मुखमा पट्टी बाँधेर ईटाले हिर्काएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । घटनामा अन्य व्यक्ति समेत संलग्न रहेको प्रहरीको भनाइ छ ।