झापा / संयुक्त राष्ट्रसंघको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । त्यसमा नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको हो ।
बुधबार भएको मतदानमा एक सय ४३ देशले युक्रेनको पक्षमा मतदान गरेका छन् भने पाँच देशले विपक्षमा मतदान गरे । बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरियाले विपक्षमा मतदान गरेका हुन् ।
त्यस्तै ३५ देश भने मतदानको समयमा अनुपस्थित रहेका थिए। उक्त प्रस्तावमा रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्ने बताइएको छ ।
साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता नदिने समेत प्रस्तावमा उल्लेख छ । उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ।