बिर्तामोड / नेपाली कांग्रेसको नीति विपरित गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि बिर्तामोड निवासी कुमार भट्टराईसहित पाँचजनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ । नेपाली कांग्रेस बिर्तामोड नगर समिति र क्षेत्र नं -२ प्रदेश क समितिले पार्टी नीति विपरित गठबन्धनका साझा उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिने भट्टराई र उनका समर्थक रामप्रसाद मैनालीलाई कारबाही गर्न जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो ।
त्यसैगरी प्रदेश क मै प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिने क्रियाशील सदस्यहरू राजु प्रसाईँ र उनका समर्थक पर्शुराम भट्टराई एवं कमल सिटौलालाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न नगर र प्रदेश समितिको संयुक्त बैठकले जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो ।
निर्वाचनको सङ्घारमा पार्टी र गठबन्धन दलका उम्मेदवारका विरुद्ध अभिव्यक्ति दिने, सामाजिक सञ्जालको दुरुपयोग गर्ने, संगठनको हित विपरित गतिविधिमा संलग्नहरूको अभिलेख राखेर कडा कारबाही गर्न बैठकले जिल्ला समितिलाई अनुरोध गरेको छ ।
बैठक नगरका कार्यबाहक सभापति सूर्य कन्दङ्वाको सभापतित्व र प्रदेश सभापति लक्ष्मी आचार्यको समन्वयमा सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय समितिको परिपत्र एवं गठबन्धन दलको निर्णयानुसार नेपाली कांग्रेस पार्टी एवं गठबन्धन दलको भागमा परेका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा बागी उम्मेद्वारी दिएकाहरुलाई कारबाही गर्न सिफारिस गरेको हो ।