झापा / ताप्लेजुङको फुङलिङ नगरपालिका -५ बिरेन्द्र चोकमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको कन्चन मनी ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका -२ का २९ वर्षीय राजन पोर्तेल, शिवसतासी नगरपालिका-१ झापाका २६ वर्षीय चुन बहादुर सुनार, अर्जुनधारा -१० झापाका २५ वर्षीय मणिराज पोर्तेल र सिदिङवा गाउँपालिका -५ ताप्लेजुङ घर भई फिदिम-१ पाँचथर बस्दै आएका २७ वर्षीय टाइगर भन्ने गजेन्द्र लिम्बू रहेका छन ।
गत असोज १७ गते बिहान कन्चन मनी ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनी ट्रान्सफरका कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका बिभिन्न गरगहनाहरू र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ समेत डाँका गरी भागेको घटना सम्बन्धमा तत्काल प्रहरी परिचालन गरी खोज तलासको क्रममा संलग्न ३ जनालाई सुनको बिभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँ र १ थान पेस्तोल सहित पक्राउ गरिएको हो ।
गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका पाँचथरको फालेलुङ-८ स्थितमा लुकिछिपि बसेको स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूको ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।