काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातु सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका-२ स्थायी वतन भएका ३६ वर्षीय किरण कुमार तामाङ रहेका छन् ।
उनलाई करिब ६० ग्राम तौलको औंठी ३ थान र आईफोन मोबाइल २ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । हिमालय एयरलाइन्सद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातु र मोबाइल फेला पारी पक्राउ गरेको हो । उक्त धातु र मोबाइल सहित उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।




































