काठमाडौँ / १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । दसैँ बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै अदालतमा उपस्थित गराएको हो ।

अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई बलात्कार गरेको आरोप लागेको थियो । यता इजलासमा सन्दिपले भने आफू निर्दोष रहेको दावी गरेका छन् ।