बारा /  बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । यसअघि विभिन्न अस्पताल स्रोतले १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं एसपी बामदेव क्षेत्रीका अनुसार चितवन पठाइएका एक घाइते र चुरेहिल अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार नारायणघाटबाट वीरगन्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार थिए ।

चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा अस्पतालमा लगिएका ३६ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने हेटौंडा सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ । चितवन पठाइएका एक घाइतेको पनि मृत्यु भएको छ ।

मृतकहरूको सनाखत हुन बाँकी छ । मृतकमध्ये १० पुरुष र ६ महिला रहेको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले पुष्टि गरेको छ ।