- अनिता बिष्ट
बिर्तामोड / चाडपर्व नजिकिएसँगै झापाको मुटु भनेर चिनिने बिर्तामोड बजारमा मानिसहरूको चहलपहल बढ्न थालेको छ ।
झापा लगायत पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलामको व्यापारिक केन्द्र समेत रहेको बिर्तामोडमा दशैँ तिहार नजिकिएसँगै किनमेल गर्नेहरूको भिड लागेको हो ।
किनमेल गर्न आउनेहरुको भिडले नै बजार अस्तव्यस्त भइरहेको बेला सवारीसाधनहरू अव्यवस्थित तरिकाले पार्किङ गर्दा सर्वसाधारणले झन सास्ती भोग्नु परेको छ ।
व्यापारी, विभिन्न संघ संस्थामा काम गर्ने कर्मचारी र आम मानिसले सडक तथा सडकका पेटी कब्जा गरी अनियन्त्रित रुपमा सवारीसाधन पार्किङ गर्दा आफूहरूले झन सास्ती भोग्नु परेको सर्वसाधारणको गुनासो छ ।
बजार क्षेत्रको अव्यवस्थित पार्किङका कारणले बालबालिका दुर्घटनाको उच्च जोखिममा रहेको पैदल यात्री शान्त बहादुर कोइरालाको भनाइ छ ।
उनले भने, ‘पेटिमा हिँडौभने सवारी साधन पार्किङ गरेको छ, त्यसकारण बीच सडकमै हिँडेको हो । हामी त दायाँ बायाँ हेरेर हिँडौला तर अभिभावकसँगै बजार आउने बालबालिकालाई भने जोगाउन मुस्किल छ ।’
अव्यवस्थित पार्किङका कारण सडकका पेटीमा हिड्न असहज भएको भन्दै अर्का पैदल यात्री रमा राई भन्छिन्, ‘सडकका पेटी भरी बाइक र गाडी छन्, हातमा सामान बोकेर हिँड्दा सारै असहज भको छ ।’
मुक्तिचोक देखि छुटिएको मुख्य चार वटा सडक मध्ये शनिश्चरे रोड बाहेक अन्य रोडमा र भित्री सडक र गल्लीहरूमा पार्किँङ अव्यवस्थित नै छ । अव्यवस्थित पार्किङका कारण सर्वसाधारणहरूलाई त समस्या छँदैछ बजार क्षेत्र नै कुरूप बनेको छ। बीच सडक देखि सडकका पेटी सम्म दुई चक्के र चार चक्के गाडीले भरिभराउ छ । अव्यवस्थित पार्किङको मुख्य समस्या सदरमुकाम जाने भद्रपुर रोड र चारआली तर्फ जाने सडकमा छ ।
शनिश्चरे रोडमा भने करिब एक महिनादेखि ट्राफिक प्रहरीले पार्किङलाई व्यवस्थित गर्दै आएको छ । शनिश्चरे रोडको पूर्व साइडमा चार पाङ्ग्रे र पश्चिम साइडमा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने व्यवस्था गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक कुमार जबेगुले जानकारी दिए ।
शनिश्चरे रोडमा पार्किङलाई व्यवस्थित बनाएपछि अहिले उक्त सडक निकै सुन्दर देखिन्छ । सरोकारवाला निकायले पार्किङ व्यवस्थित पार्ने चासो नदिएका कारण पनि सडकका पेटीहरु अस्तव्यस्त देखिको व्यापारीहरूको गुनासो छ ।
प्रहरी निरीक्षक जबेगुले पार्किङ व्यवस्थित नभएको स्वीकार गर्दै व्यवस्थित बनाउन स्थानीय सरकारसँग सहकार्य गरेर योजना बनाइरहेको बताए ।