बिर्तामोड / इलाका प्रहरी कार्यालय बेलबारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक विशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले विधिवत रुपमा समुद्घाटन गरेका हुन् ।  भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौँ नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताए ।

कार्यक्रममा आफ्नो भनाई राख्नु हुँदै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड  दिए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए ।

OM Sai Pathibhara Hospital

साथै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै जोस र ऊर्जाका साथ नागरिकहरूको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।  नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैयाँ २५ पैसाको लागतमा साँढे २ तले कार्यालय भवन निर्माण सम्पन भएको हो । उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधिहरू, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत स्थानीयवासीहरू उपस्थिति रहेको थियो ।