काठमाडौँ / मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरोमा परि बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिमपहिरोमा परि बेपत्ता भएका सङ्खुवासभाका अनुप राईको मृत्यु भएको हो । अन्य १० जनाको भने सकुशल उद्धार गरिएको छ ।
राईको शव आधार शिविरबाट निकालेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सोमबार अबेरसम्म चारजनाको उद्धार गरिएको थियो । थप ६ जनाको मंगलबार बिहान उद्धार गरिएको हो ।
मंगलबार बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरोमा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेको हो ।