झापा / ओखलढुङ्गामा शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नैमा जिल्लाको सिद्धिचरण नगरपालिका -८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् । धमलालाई सप्तरीको विष्णुपुर गाउँपालिका–५ घर भई जिल्लाको चिसंखुगढी गाउँपालिका-४ लेखर्कस्थित कालिका आधारभूत विद्यालयमा अध्यापनरत ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त शिक्षक गत असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी प्रमुख (डीएसपी) सुकदेव खनाल सहितको टोली घटना स्थल पुगेको थियो । घटनाको प्रकृति हेर्दा र अनुसन्धान गर्दा शिक्षकको हत्या गरी महिला फरार रहेको खुल्न आएको थियो । प्रहरीले शंकित ब्यक्तिको खोजतलास र पहिचान गर्ने क्रममा शनिबार साँझ उक्त महिलालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख खनालले जानकारी दिए । पक्राउ परेकी महिलालाई आज (आइतबार) जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मृतक शिक्षकलाई टाउको तथा शरीरको अन्य भागमा कुटपिट गरी सख्त घाइते बनाई नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिची हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले समेत घटना आफैले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन् । प्रहरीका अनुसार मृतक शिक्षक र धमला केही समयदेखि एकअर्काप्रति चिरपरिचित थिए । यसैक्रममा उक्त शिक्षकले आफूलाई विभिन्न ब्ल्याकमेल गर्न खोजेपछि आफूले शिक्षकको कोठामै गएर घटना घटाएको पक्राउ परेकी महिलाले बताएको डीएसपी खनालले जानकारी दिए ।