बिर्तामोड / झापाको दमक नगरपालिका- ३ बेलडाँगीका ४४ बर्षीय एल बि भन्ने लाल बहादुर गुरुङको इलामको चुलाचुली गाउँपालिका-५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुलाचुली-४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीया बिक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक दिलिप घिमिरेको कमान्डमा परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई खोज तलास गर्ने क्रममा बिभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थामा पक्राउ गरेको हो । बुधबार बेलुका ५ बजे १०/१२ जना अपरिचित व्यक्तिहरूले बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरिरको बिभिन्न भागमा काटी गम्भिर घाईते बनाई घटना स्थलबाट भागी फरार भएको र घाईते गुरुङको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले उनिहरुलाई घटनामा प्रयोग भएको दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरू तथा मृतकले प्रयोग गरेको को १९ प ३७२५ नम्बरको मोटरसाइकलको दुबै चक्काको टायर काटी फालेको अवस्थामा फेला परी बरामद गरेको हो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटना भएको ३ दिन अगाडि मृतक गुरुङले घट्नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घटनाको बदला लिन आरोपितहरूले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको छ ,भने घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।






































