कैलाली / कैलालीको गौरीगंगा नगरपालिका –५ का अन्दाजी ३५ वर्षीय शेरबहादुर नाम्जाली मगरले श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मगरले अन्दाजी ३२ वर्षीया श्रीमती ललिता नाम्जाली मगरको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।
शेरबहादुरले आफ्ना छोराछोरीलाई समेत कुटपिट गरेका छन् । बुबाको कुटपिटबाट १७ वर्षीया छोरी लक्ष्मीको टाउकोमा चोट लागेको छ भने १२ वर्षीय छोरा विजय पनि घाइते भएका छन् ।
बिहीबार बिहान ललिताको शव भेटिएपछि अनुसन्धान गर्दा श्रीमानबाटै हत्या भएको खुलेको प्रहरीको भनाइ छ । मृतकको शरीरमा धारिलो हतियार प्रहार भएको पाइएको छ ।
रोजगारीका लागि भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घटनापछि फरार उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।