झापा / मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश १ का २२ जना यौनिक तथा लैंगिक अल्पसङ्ख्यकले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ का १४ जिल्ला मध्ये सात ओटा जिल्लाका २२ जना यौनिक तथा लैंगिक अल्पसङ्ख्यकले मतदान गर्न पाउने भएका हुन् ।
जसमध्ये झापाबाट ८ जना मोरङबाट ६, इलाम, सुनसरी र उदयपुरबाट २–२, भोजपुर र ओखलढुङ्गामा एक–एक जना छन् भने ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सोलुखुम्बु र खोटाङको मतदाता नामावलीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समावेश छैनन् ।
त्यस्तै मधेस प्रदेशमा ७० जना, कर्णालीमा ३, वाग्मतीमा २७, गण्डकीमा ११, लुम्बिनीमा ३४ र सुदूरपश्चिममा १८ जना छन् ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा महिला र पुरुषको संख्या उल्लेख छ । तर, यौनिक तथा लैंगिक अल्पसंख्यकको जनसंख्या सार्वजनिक गरिएको छैन । मितिनी नेपालका अनुसार पछिल्लो समय देशभर करिब पाँच सय जना यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्ति रहेका छन् ।
संविधानले राज्यका निकायमा अन्य वर्ग, क्षेत्र र समुदायलाई जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकको समावेशी प्रतिनिधित्वको व्यवस्था गरे पनि कतिपयले परिचय खुलाएर मताधिकार उपयोग गर्न सकेका छैनन् भने कतिपयले फरक लैङ्गिकताकै कारण नागरिकतासमेत लिन सकेका छैनन् ।