बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-६ स्थित रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नव निर्मित कार्यालय भवन उद्घाटन भएको छ । आज एक कार्यक्रमको आयोजना बिच १ नम्बर प्रदेश आन्तरिक  मामिला तथा कानुन मन्त्री माननीय केदार कार्कीले नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी असुरक्षित भयो भने मात्र सयौँ नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित हुनु पर्ने विषयमा जोड दिए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई  भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोबल बढ्ने र कार्य क्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई  नागरिकको सुरक्षामा खटिने बताए । 

OM Sai Pathibhara Hospital

साथै  सुविधा सम्पन्न भवन प्राप्त भएसँगै जोस र ऊर्जाका साथ सीमावर्ती क्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गरी नागरिकहरूको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए । नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँ ६८ पैसाको लागतमा निर्माण सम्पन्न  भएको हो ।