बिर्तामोड / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिकाका ४ वटा विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुद्धशान्तिका ४ वटा विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।
शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर -४ मा रहेको गणेश मा बि , वडा नम्बर -७ मा रहेको राष्ट्रिय विजय मा बि , वडा नम्बर -५ मा रहेको गडीगाउँ मा बि , र वडा नम्बर -२ मा रहेको सरस्वती आधारभुत विद्यालय छनोट भएका छन् । गणेश मा बि लाई ४ कोठे भवनका लागि ५० लाख , राष्ट्रिय विजय मा बि लाई ४ कोठे भवनका लागि ५० लाख , गडीगाउँ मा बि लाई आइसिटी कार्यक्रम र सरस्वती आधारभुत विद्यालयलाई २ कोठे भवनका लागि २५ लाख बजेट बिनियोजन भएको छ ।
त्यस्तै मेचीनगर, बिर्तामोड, कचनकवल र झापा गाउँपालिकाका ४ / ४ वटा विद्यालय छनोट भएका छन् भने गौरादह, बाह्रदशी र भद्रपुरका ५ र ५ वटा, कमलका ७, दमकका १० गौरीगञ्जका ३ र अर्जुनधाराका ६ वटा विद्यालय छनोट भएका छन् ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार, आइटी ल्याव स्थापना लगायत कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।
प्रस्ताव पेश गरेका विद्यालयमध्येबाट भदौ २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रममा सहभागी गराउने विद्यालयको नाम छनोट गरेको थियो । कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु आर्थिक वर्षका लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्ष ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।