बिर्तामोड / झापाको दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका –६ का २८ वर्षीय मोहन राजवंशीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राजवंशीको कोठाबाट ५ ग्राम ब्राउनसुगर बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए ।
यसैगरी अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका –५ स्थित मेची पुल छेउबाट ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा प्रहरीले टेम्पोमा लुकाई छिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागूऔषध बरामद गरेको थियो ।
टेम्पोबाट लागूऔषध बरामद भएसँगै चालक बिर्तामोड –२ का ३६ वर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका –८ का २५ वर्षीय अजय राजवंशीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।