बिर्तामोड / झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।
शनिबार अपरान्ह याङबरक गाउँपालिका –६ पाँचथर घर भई बुद्धशान्ति –२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइली बुद्धशान्ति गाउँपालिका –३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।
घाईते रसाइलीको स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिर्तामोडस्थित बि.एन्ड. सी अस्पताल ल्याइपुर्याउन साथ मृत्यु भएको हो ।
यस्तै हल्दीबारी गाउँपालिका –५ का ६१ वर्षीय ओम बहादुर थाम्सुहाङको पनि करेन्ट लागेर मृत्यु भएको छ । शनिबार भुतेनी खोलामा करेन्ट लगाई माछामार्ने क्रममा करेन्ट लाग्दा थाम्सुहाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी मेचीनगर नगरपालिका –११ धाइजनका ४७ वर्षीय सन्त चौधरी पनि मेचीनगर –५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाईते भएका थिए । उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।