झापा / प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन नजिकिएसँगै निर्वाचन आयोगले चुनावी आचारसंहिता लगाउने तयारी गरेको छ ।
आगामी असोज २ र ३ गते समानुपातिक उम्मेदवारको सूची दर्ता गर्ने आयोगको कार्यतालिका छ । उम्मेदवारको सूची दर्ता पश्चात् असोजको पहिलो सातामा आचारसंहिता जारी गर्ने तयारी भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
यसैबीच, प्रत्यक्षतर्फको मनोनयन दर्ता असोज २३ गते गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यसूची अनुसार असोज २३ गते बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने र सोही दिन साँझ ५ बजे उम्मेदवारको सूची सार्वजनिक गरिने कार्यतालिका छ ।
त्यस्तै, मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध असोज २४ गते उजुरी दर्ता गर्न सकिने छ । २४ गते अपरान्ह ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म उजुरी उपर जाँचबुझ गरेर निर्णय गर्ने र क्रमिक रुपमा असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ । चुनाव चिह्रन प्राप्त गरेसँगै दलहरू निर्वाचन प्रचारप्रसारमा लाग्नेछन् ।






































