काठमाडौँ / करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चार विषयगत समितिमा सभापतिहरू चयन भएका छन् । रिक्त समितिहरूमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत सभापति चयन गरिएको हो।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का महासचिवसमेत रहेका बेदुराम भुसालले उम्मेदवारी दिएका छन्।
राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ। यसअघि पनि उनी नै सभापति थिइन्।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्माको उम्मेदवारी परेको छ।
यसअघि यो समितिको सभापतिमा रामनारायण बिँडारी थिए। उनी कार्यकाल सकिएर १९ फागुन २०७८ मा कार्यकाल सकिएर बिदा भएपछि रिक्त रहेको सभापति पदमा माओवादी केन्द्रका शर्माले उम्मेदवारी दिएका हुन्।
दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थको उम्मेदवारी परेको छ। यसअघि सत्ता गठबन्धनले रिक्त राष्ट्रियसभाका चारवटै समितिको सभापति आफैँ राख्न खोजेको थियो। तर राष्ट्रियसभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको भनी एमालेले कम्तीमा एउटा सभापति भए पनि पाउनुपर्ने अडान राख्दै आएको थियो।
गठबन्धनमा रहेका दलहरू एमालेलाई एउटा समितिको सभापति छाड्न तयार भएपछि रिक्त सभापतिको पदपूर्तिका लागि निर्वाचन गर्ने सहमति जुटेको थियो।