बिर्तामोड / सुनसरी र इलामको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
शनिवार दिउँसो सुनसरीको दुहबी नगरपालिका ३ मा को १ च ७१८६ नम्बरको पिकअप र प्रदेश १-०४-००१ प ८१३८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाईते भएका मोटरसाइकल चालक धनपालथान गाउँपालिका-२ का २० वर्षीय धिरज मण्डलको उपचारको क्रममा विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
यसैगरी शनिवार अपरान्ह इलामको रोङ गाउँपालिका -४ मा, मे ४ प ८३५५ नम्बरको मोटरसाइकलले मे १ क ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित भई ट्रकको चक्कामा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक सूर्योदय नगरपालिका-४ का ३९ वर्षीय रत्न कुमार थापा मगरको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।