बिर्तामोड / झापा र मोरङको छुट्टाछुट्टै  स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ ।

हिजो अपरान्ह झापाको मेचीनगर नगरपालिका -६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आँउदै गरेको प्रदेश १-०२-०४४ प ३९२९ नम्बरको मोटरसाइकलमा सवार रहेका लेटाङ नगरपालिका -४ मोरङका २१ वर्षीय सनिप राई र २१ वर्षीय पूर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए सँगै मेचीनगर नगरपालिका -७ का २१ वर्षीय रोहित मंडल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगर सहित तीनै जनालाई पक्राउ गरिएको छ  ।

OM Sai Pathibhara Hospital

दमक नगरपालिका -२ खरखरे स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका दमक -२ का ४१ बर्षीय भिम बहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

यसै गरी मोरङको विराटनगर महानगरपालिका -१५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटमा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १- ०२- ०४ प १७५७ नम्बरको मोटरसाइकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका -२ का २८ वर्षीय ज्ञानदीप चौलागाइँको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट  थप अनुसन्धान भइरहेको छ ।