झापा / झापाको मेचीनगरबाट श्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध (ब्राउन सुगर) बरामद गर्न पुगेको प्रहरीले स्रोत नखुलेको साढे १० लाख बढी रकमसहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका –१५ स्थित निलकोठी निवासी ३० वर्षीया अप्सरा खातुन (राजवंशी) र ४३ वर्षीय मोहम्मद मोसाद आलम रहेका छन् । 

OM Sai Pathibhara Hospital

इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार बिहान अप्सराको घरमा लागुऔषध खनताल गर्न पुगेका थिए । 

उनको घरबाट लागु औषध बरामद नभए पनि ब्राउनसुगर नाप्ने मिनी डिजिटल तराजु दुई थान र नगद १० लाख ८२ हजार ५ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । 

राजवंशीको घरबाट श्रोत नखुलेको रकम र समान बरामद भएसँगै संकित अवस्थामा सोही घरमा रहेका आलमलाई  समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।