झापा / ड्युटीमा रहेका प्रहरी कर्मचारीले मोबाइल फोन चलाउन नपाउने भएका छन् ।
मोबाइल चलाउँदा ड्युटीमा ध्यान केन्द्रित नहुने भएपछि कमाण्डरबाहेक अन्य प्रहरीलाई मोबाइल प्रयोगमा रोक लगाइएको हो ।
नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार अब प्रहरीले आफ्नो ड्युटी अवधिभर मोबाइल ‘साइलेन्स’ मोडमा राख्नुपर्ने छ । कुनै प्रहरी मोबाइल चलाइरहेको अवस्थामा भेटिए नियमावली बमोजिम कारबाही गरिने राईले बताए ।
सुरक्षा निकायका कर्मचारीले वाकीटकीमार्फत कुराकानी गर्ने गर्छन । तर, पर्याप्त वाकीटकी नभएकाले मोबाइल फोनबाट कुराकानी गर्नुपर्ने भएकाले ड्युटी अवधिभर फोन ‘साइलेन्स’ मा राख्न निर्देशन दिएको बताइएको छ ।
पछिल्लो समय प्रहरीहरू पोशाकमै टिकटक, फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा देखिन थालेकाले प्रहरी हेडक्वाटरले कडाइ गरेको हो । ड्युटीमा कुनै प्रहरीले मोबाइल प्रयोग गर्नै परे कमाण्डरबाट अनुमति लिनुपर्ने समेत उनले बताए ।