विराटनगर / प्रदेश नम्बर १ को बर्खे अधिवेशन शुक्रबार अर्थात भदौ १७ गतेदेखि सुरु हुने भएको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार गत साउन २२ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको दशौँ तथा बजेट अधिवेशनको २५ औँ बैठक १७ भदौ शुक्रबारदेखि सुरु हुने भएको हो ।
सरकारले चालू अधिवेशनमै प्रदेशको नामकरण टुंगो लगाउने प्रतिबद्धता जनाए पनि दलहरूको खिचातानीले पहिलो कार्यकालको जारी अधिवेशनमा प्रदेशको नामकरण हुने सम्भावना लगभग टरेको छ ।
प्रदेश सभामा सरकारले पेस गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान र प्रदेश आमसञ्चार प्रतिष्ठान विधेयक विचाराधीन छन् । प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक पर्यटन तथा वातावरण समितिमा दफावार छलफल भइसकेको छ ।
तर, प्रदेश आमसञ्चार प्रतिष्ठान विधेयक न्याय प्रशासन तथा विद्ययन समितिमा अझै छलफलमै रहेको छ । सम्भवत विचाराधीन रहेका दुई विधेयक पारित भएपछि प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम अधिवेशन सरकारले अन्त गराउनेछ ।