झापा / तीजको दिन सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर -१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् ।
दुवै जनाको जिल्ला अस्पताल पुर्याए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।
दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएको जिल्ला प्रहरी प्रहरी निरीक्षक खनालले बताए ।
अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन । घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ ।
प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार कालीमाटी गाउँपालिका वडा नम्बर -१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर -१० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।
यसैबीच रौतहटमा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ७ बजे रौतहटको गरूडा नगरपालिका -३ मलाहीचोक बस्ने तीन जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० सुनिल मल्लले जानकारी दिए ।
मृतक सोही ठाउँ बस्ने सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी छन् । उनीहरूको गरूडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए ।
यस्तै चट्याङ लागेर एक जना घाइते समेत भएका छन् । सोही ठाउँमा बस्ने ४० वर्षीया सहेलीदेवी सहनी घाइते छिन् । उनको पनि सिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनी खतरामुक्त भइसकेको प्रहरीले जनाएको छ । बिहान उनीहरू चारै जना सोही ठाउँका शरद सहनीको धानखेतमा काम गरिरहेका थिए। त्यसक्रममा उनीहरूलाई चट्याङ लागेको हो ।