बिर्तामोड / बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टरले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा पत्रकार सहारा उपचार कोषलाई १५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी) की सञ्चालक नर्वदा भट्टराईले मंगलबार उक्त रकम प्रदान गरेकी हुन् ,
उक्त कार्यक्रममा अभियान नेपालका लागि विष्णु आचार्यलाई रु. ३५५५ र परोपकार बृद्धाश्रमलाई पनि रु. ३५५५ सहयोग प्रदान गरियो ।
बिर्ता आयुर्वेदको पाँचौं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले गरेका थिए ।
सञ्चालक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई र कोषाध्यक्ष रञ्जित प्रसाईं पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल लगायत उपस्थिति थियो ।
कविराज कमल रिजालले बिर्ता आयुर्वेदको सेवा बारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए । महासङ्घका अध्यक्ष गिरीले वार्षिकोत्सवको शुभकामना सहित कोषमा सहयोग गरेकोमा बिर्ता आयुर्वेद परिवारप्रति धन्यवाद ज्ञापन गरे ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको छ ।