झापा / रूकुम पश्चिममा पहिरोमा परेका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ ।आठबिसकोट नगरपालिका -१४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतीक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए । माइतीबाट घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए ।

भेरी नगरपालिका -१ मैतेस्थित माइतीमा दर खाएर उनी घर फिर्कदै थिइन् । पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए ।
आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा माथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको थियो ।
आइतबार दिउँसो करिब १ बजेतिर उनीहरूलाई पहिरोले पुरेको थियो । पहिरोबाट निकालेर उनीहरूलाई अस्पताल लगिएको थियो । दुई जनाको मृत्यु भएको र एकको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।