बिर्तामोड / सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरि बिर्तामोड नगरपालिकाका मेयर र उपमेयर हराएको  भन्दै भ्रम र  गलत सूचना फैलाउने एक युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बिर्तामोड – ४ का २२ वर्षीय राजु बिमली रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

बिमलीले शनिवार राती बिर्तामोड नगरकी प्रमुख पवित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाको तस्वीर फेसबुकमा राखेर उनीहरु हराएको र खोजीदिन आग्रह गरेका थिए । 

डीएसपी कुँवरका अनुसार दमकमा आईटी अध्ययन गर्दै आएका उनलाई आवश्यक कारबाहीका लागि आज दिउसो घरबाटै नियन्त्रणमा लिइएको हो । 

नगर प्रमुख महताराले भने ती युवकले फैलाएको भ्रामक सूचना प्रति घोर भर्त्सना गरेकी छिन् । उनले भनेकी छिन्, ‘यस्तो भ्रामक सूचना फैलाउने व्यक्तिलाई कानुनको दायरामा नल्याए फेरी भोलिको दिनमा पनि यस्तो घटना घट्ने छ ।’ 

यस्तो भ्रामक सूचनाले समाजमा नकरात्मक असर पर्नको साथै  आफ्नो चरित्र हत्या समेत भएको भन्दै कानुनी कारबाहीको माग गरेकी छिन् ।