एजेन्सी / लिबियामा राजनीतिक विवाद फेरि चुलिएको छ । विवादले हिंसाको रूप लिएको छ । पछिल्लो पटक राजधानी त्रिपोलीमा झडपमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा कयौँ मानिस घाइते भएका छन् । अधिकारीहरूका अनुसार झडपमा त्यहाँका एक युवा हास्य कलाकार मस्तफा बराकाको पनि मृत्यु भएको छ ।
लिबियामा सन् २०११ मा कर्नेल मुअम्मर गद्धाफीको अन्त्यसँगै केही समय राजनीतिक अस्थिरता भए पनि पछिल्ला वर्षहरूमा देश शान्त थियो । तर, मान्यता पाएको सरकारको सुरक्षा बल र स्वघोषित सरकारका सुरक्षा बलबीच झडपका घटना हुन थालेका छन् ।
राजधानी त्रिपोली लगायत कयौँ ठाउँमा पछिल्लो पटक घरेलु सहित स- साना हतियार बोकेका मिलिसिया देखिन थालेको र ठाउँ ठाउँमा विस्फोट हुन थालेको जनाइएको छ ।
यो घटनापछि संयुक्त राष्ट्र संघले युद्ध बिराम गर्न दुवै पक्षलाई आग्रह गरेको छ ।