काठमाडौं / नक्कली मदिरा उत्पादन गरि बिक्रीवितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरि वली, भगवान बस्नेत, विशाल वली, मनोज खत्री र गोपी श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्राण्डका नक्कली मदिरासहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।
कोटेश्वरमा विभिन्न ब्राण्डका नक्कली मदिराको बिक्रीवितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तिको संलग्नता पाइएको र निजको डेराबाट डबल ब्ल्याक, ब्ल्याक लेबल लगायतका मदिराहरू चार कार्टुन सिल प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
उनीसँग सोधपुछ गर्दा नक्कली मदिरा उत्पादन गर्ने मुख्य व्यक्ति र अन्य तीन जनाको पहिचान भएको थियो। फ्याक्ट्री भक्तपुरको दुवाकोटमा रहेको खुलेपछि उत्पादनकर्ता भगवान बस्नेत समेतलाई नियन्त्रणमा लिएर फ्याक्ट्रीमा प्रहरीले छापा मारेको थियो।
छापा मार्दा ठूलो परिमाणको नक्कली मदिरा बरामद भएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहोराले जानकारी दिए।
उक्त मदिरा नाइट क्लव, मदिराका डिलर, डान्सवारमा माग हुने र उत्पादन गरी बिक्रीका लागि पठाइने गरेको प्रहरीले जनाएको छ।
पक्राउ लाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।